काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको बताएका छन् । बिहान मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले लेखेका थिए । त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने पोखरेलको भनाई छ ।
‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन् ।











