Logo
Logo

प्रहरीको अर्काे गोलीकाण्ड विवादमा


- दृष्टि न्युज/संवाददाता


वीरगञ्ज, २५ मंसिर ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट हुने गोली प्रहारमा प्रश्न उठाइरहेका बेला प्रहरीको अर्काे ‘इन्कान्टर’ प्रयास विवादमा परेको छ । कात्तिक २० गते पर्सा प्रहरीले २० वर्षिय राजकुमार दासलाई गोली हानेको थियो । बालक अपहरणको आरोपमा उनलाई प्रहरीले गोली हानेको थियो ।

पक्राउ गरेर आँखामा पट्टी लगाएर गोली हानेको खुलेपछि प्रहरी समस्यामा पर्ने देखिएको छ । दासका परिवारले सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले निर्दाेषलाई फसाउने प्रयास गरेको बताएका छन् ।

राजकुमारका बुवा भिखारी दास र आमा वैजन्ती देवीले सोमबार पत्रकार सम्मेलन गर्दै अपहरणको नाटक गरेर छोरालाई फसाइएको दावी गरे । उनीहरुले काभ्रेको बनेपाबाट अपहरणमा परेको भनिएको पोखरीया– ६ सिर्सिया बस्ने अम्जत खानको छोरा अफरोज खान, पोखरीया–९ सेमरबारीकै अफलातुन रायको छोरा फिरोज रायले राजकुमारलाई फसाएको बताए ।

राजकुमार कात्तिक १९ गते अपरान्ह मामा नन्दु दासको बाईक लिएर किराना समान खरिद गर्न रक्सौल गएका थिए । रक्सौलमा परेउवा टोलस्थित रेलको ढाला नजिकै छिमेकी फिरोजसँग भेट भएको थियो । उनले फकाएर फिरोजलाई फुपा नाता पर्ने अरमान भाटको घरमा लगेका बुबा भिखारी दासले बताए ।
अरमानको घरमा राजकुमारले नचिनेका ६÷७ जना मानिसहरु पनि थिए । त्यहाँ कपडाले आँखा र हात बाँधेर सर्टको खल्तीमा फलामे बस्तु जस्ता चार पाँचवटा समान राखेर गाडी चढाएको राजकुमारले अभिभावकसँगको भेटमा बताएका थिए । पछि गाडीबाट उतारेर भूँईमा राखी दायाँ खुट्टामा दुईपटक गोली हानीएको र आफू त्यसपछि बेहोस भएको राजकुमारले बताएका बुबा दासले बताए ।

तर प्रहरीले भने अम्जदले फिरौती रकम बुझ्न जाँदा बन्दुक देखाएर पैसाको झोला खोसेर भाग्न खोजेकोले राजकुमारलाई गोली हानिएको दाबी गरेको छ ।
प्रारम्भिक छानबिनमा गोली हान्नुपर्ने अवस्था नदेखिएकाले पर्साका एसपी सोमेन्द्रसिंह राठौर समस्यामा पर्ने देखिएको छ । पीडितका परिवारले मानव अधिकार आयोगमा उजुरी दिने तयारी गरेका छन् ।
यसअघि आयोगले कुमार पौडेल इन्काउन्टरमा संलग्न प्रहरीलाई निलम्बन गरी कारबाही गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्