
काठमाडौं । एशिया आदिवासी एक्यवद्धता कोष (आई.पी.ए.एस)को ११ सदस्यीय कार्यसमितिमध्ये नेपालबाट प्रतिमा गुरुङ चयन भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी विभागअन्तर्गत पद्मकन्या कलेजमा उपप्राध्यापक, निडवान नेपालको अध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको विज्ञ समेत रहेका गुरुङ यहि चैत २० गते इण्डोनेसियामा सम्पन्न ३ दिने १४ देशका १०५ प्रतिनिधि सहभागी सम्मेलनबाट आईपीएएसको कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन् ।
एशिया र अन्तरास्ट्रियस्तरमा आदिवासी जनजाति, आदिवासी जनजाति महिला र अपांगता भएका व्यक्तिहरूको समावेशीता र सहभागिताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका उनी चार वर्षका लागि चयन भएका हुन् ।
उनले आदिवासी जनजाति महिला, अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गरेका छन् । प्रतिमाले सन् २००५ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सो अनुसन्धानको प्रतिवेदनलाई प्रस्तुत गर्ने अवसर पाएका थिए ।
र, सो कामको निरन्तर प्रयासलाई सम्मान गर्दै राष्ट्रिय मानवअधिकार आयोगले सम्मान पत्र र नगदसहित यस वर्षको ‘राष्ट्रिय मानव अधिकार पुरस्कार सम्मान–२०७९’ प्रदान गरेको थियो ।











