Logo
Logo

महासंघमा गोल्छापछि चन्द्र ढकाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक । विधान संशोधन गर्न यही कात्तिक २९ गतेका लागि बोलाइएको विशेष साधारणसभा स्थगित भएपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निरन्तरता पाउने भएका छन् । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने कुरा अलोकतान्त्रिक भयो भन्ने तर्कका आधारमा अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने धारणा राख्दै महासंघले पूर्वअध्यक्ष चण्डिराज ढकालको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको थियो । ढकाल स्वयंले तीन वर्ष अगाडि महासंघलाई गुट उपगुटबाट मुक्त गर्न वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउनु पर्ने कुरामा जोड दिँदै आएको कारण त्यतिबेला विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाइएको थियो । अहिले ढकालले आफ्नो पूर्वअडानबाट चिप्लिएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने अडान लिएपछिे विवाद चुलिएको थियो ।

यसै विवादबीच महासंघका सात जना पूर्वअध्यक्षहरु वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउनुपर्ने अडानमा उभिएपछि यो विवादले शान्तिपूर्ण अवतरण ग¥यो । जुन कुरामा वर्तमान अध्यक्ष भवानी राणाले समेत समर्थन जनाएपछि विधान संशोधन समितिका संयोजक ढकाल एक्लिएका थिए । पछि, ढकालले पनि पूर्वअध्यक्षहरुले उठाएको कुरालाई आत्मसात गरेपछि महासंघमाथि आइपरेको महासंकट टरेको छ ।

आगामी चैत २८, २९ गते हुने साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष गोल्छा निर्विरोध अध्यक्ष बन्नेछन् भने, वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुनेछ । अहिलेका अधिकांश पदाधिकारीहरुका साथै पूर्वअध्यक्षहरु ढकालको पक्षमा रहेकाले वरिष्ठ उपाध्यक्षमा ढकालको जित सुनिश्चित जस्तै देखिएको छ । ढकालका सम्भावित प्रतिद्वन्द्वीका रुपमा देखिएका प्रधान गत साधारणसभामा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाबाट पराजित उम्मेदवार हुन् । महासंघको इतिहासमा इन्जिनबाट रेलको एउटा डिब्बा छुटेपछि जोडिन गाह्रो पर्ने भएकाले प्रधानका लागि यसपटकको उम्मेदवारी पनि फलामको चिउरासरह हुने देखिन्छ ।

यस विषयमा प्रधानसँग कुराकानी गर्दा उनले भने– सत्यको लागि सधैँ लडिरहन्छु । सत्यको एक दिन जित अवश्य हुन्छ भन्ने विश्वासमा छु । वरिष्ठ उपाध्यक्षमा अरु लडे पनि नलडे पनि म चाहिँ लड्छु । किनभने, मैले भगवान्मा विश्वास गर्छु प्रधानले दृष्टिसँग भने । वरिष्ठ उपाध्यक्षकै अर्का प्रतिस्पर्धी चन्द्र ढकालसँग सम्पर्क गर्दा ढकालले साथीहरुसँग सल्लाह भइरहेको बताए । उनले दृष्टिसँग भने, सबैले माया गरेर निर्विरोधरुपमा मैले महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका पाएँ । आशा छ, वरिष्ठ उपाध्यक्षमा पनि निर्विरोध नै हुन्छु होला । महासंघको भावी परिदृश्यका विषयमा विधान संशोधन समितिका संयोजक चण्डि ढकालसँग सम्पर्क गर्दा दृष्टिसँग ढकालले भने– अध्यक्षको विषयबाहेक विधान संशोधनका अन्य कुराहरुलाई प्रक्रियागत ढंगबाट महासंघमा पेश गर्ने तयारीमा छु । भावी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षका विषयमा कसैसँग छलफल भएको छैन । तर, पनि केही नाम सुन्नमा आएको छ, समय आएपछि निर्णय लिनेछु । मूल कुरा महासंघलाई कसरी एकताबद्ध ढंगले अगाडि बढाउने भन्ने कुरा हो, त्यसमा म जहिले पनि सहमत छु ।

पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको प्रतिक्रिया यस्तो छ– ‘विमतिबीच पनि हामीले राखेको प्रस्ताव सबैले स्वीकार्नु महासंघलाई एकताबद्ध बनाएर लैजाने सहमति नै हो । त्यसमा चण्डी ढकाल, भवानी राणालगायत सबै एकै ठाउँमा आउनुले महासंघको शक्ति बढेको छ । बाँकी कुरा पनि सहमतिबाटै अगाडि बढाउन सकियो भने महासंघको इतिहासमा त्यो अर्को ठूलो उपलब्धि हुने कुरामा विश्वास छु ।’

प्रतिक्रिया दिनुहोस्