Logo
Logo

सन्दीपमाथि कर छलीमा अनुसन्धान ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक । नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नै कमाईबाट उनले काठमाडौंको बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसँगै उनमाथि समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानबिन थालेको छ ।

६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानबिन थालेको हो । स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानबिन थालिएको छ ।

आर्थिक बिधेयक २०७६ अनुसार अविवाहितको हकमा ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरले वर्षमा ४ हजार रुपैयाँसम्म कर तिरे पुग्छ । ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार तिर्नुपर्छ । ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ तिर्नुपर्छ । २० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । जसअनुसार २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख रुपैयाँ उनले तिर्नुपर्ने हुन्छ ।

गत वर्ष क्यानाडामा भएको ग्लोबल टी– २० बाट मात्र ६० हजार डलर कमाएका थिए । बंगलादेश प्रिमियर लिगमा पनि ६० हजार डलर नै कमाएका थिए । पाकिस्तान सुपर लिगमा ५० हजार डलर कमाएका उनले क्यारेबियन प्रिमियर लिगबाट ७० हजार डलर लिएका थिए । त्यस्तै आईपिएलमा २० लाख लिएका थिए । यसमध्ये केही रकम एजेन्ट र मेनेजेरले पाउने भए पनि उनको कमाई करिब २ करोड देखिन्छ ।

जसअनुसार उनले एक वषैमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । तर, उनले थोरैमात्र कर तिरेका छन् ।

यो वर्ष त उनको कमाई करिब तीन करोड नाघ्ने देखिएको छ । टि टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको एक प्रतियोगितामा समेत उनी छानिएका छन् ।

इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउन्ड(एक करोड ४७ लाख रुपैयाँ) मा अनुबन्धित भइसकेका छन् । त्यस्तै टी– १० लिगमा ४५ हजार डलरमा उनी बिकेका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर उनले पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उनको सम्भावना छ । विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर, क्यानबाट तलबसहित उनको कमाई तीन करोड पुग्ने छ ।

विश्वका धेरै चर्चित खेलाडीहरु करको लफडामा परेका छन् । मेसीदेखि रोनाल्डोसम्मलाई यस्तो कसुरमा सजाय भएको छ । नेपालमा सबैभन्दा धेरै कमाउने सन्दीप पनि करको लफडामा परेका छन् ।

यद्यपि, उनले कमाई लुकाउन बैंकबाट कर्जा समेत लिएका छन् । तर, पनि गम्भीर छानबिन भए उनीमाथि कारबाही हुने सम्भावना रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्