Logo
Logo

बालेनको आरोपबारे बोले गृहमन्त्री


3.2k
Shares

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरका मेयर बालेन साहले संघीय सरकारले आफुलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् ।

संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएपछि सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सरकारसँग समन्वय गर्न प्रक्रियागत रूपमा आउनुपर्ने बताएका हुन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको आरोप लगाएका थिए । बल प्रयोग गर्न अनुरोध मात्र गरेर समन्वय नहुने गृहमन्त्रीको भनाइ छ ।

गृहमन्त्रीको भनाई जस्ताको तस्तैः
महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन? अझ सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत त्यसो भन्न मिल्छ कि मिल्दैन? यल्ले महानगरपालिका स्वयं मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने कुरा उहाँले सोच्नुपर्छ ।

म धेरै टिप्पणी गर्न चाहन्नँ, समन्वय भनेको चाहिँ स्थानीय सरकारले वा अर्काे कुनै सरकारले अर्काे सरकारलाई यसो गर्दिनूस् भन्नेलाई समन्वय भनिँदैन। समन्वय भनेको त यो प्रोब्लम छ, यो प्रोब्लमलाई यसरी हल गर्ने सोचिएको छ, यसरी हल गर्नु यसकारणले उचित छ भनेरचाहिँ पुष्टि हुनेगरी हाम्रो समन्वय हुने कुरा हुन्छ, अनि त्यसपछि चाहिँ आवश्यक सहयोग गर्ने कुराहरू हुन्छ। सहयोग गर्ने कुरामा चाहिँ हामीमा कुनै दुविधा छैन। तर त्योचाहिँ औचित्य पुष्टि हुने गरेर समझदारीमा समन्वय हुन्छ।

काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। तर कुरो के हो भने संघीय सरकार तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ। तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकार दिएर मात्र त हुँदैन।

यसबारे मैले महानगरका मेयरलाई प्रस्ट भनेको छु– तपाईंले गर्न खोजेको कामले औचित्य पुष्टि हुनेगरी तथ्यमा उभिने अलिकति निष्कर्षमा त पुग्नपर्यो नि त! तपाईंले मात्र गर्न सक्ने केही काम छ भने तपाईंको अधिकार क्षेत्रमा केही हस्तक्षेप गर्दैनौँ। तर तपाईंले संघीय सरकार वा प्रदेश सरकारको संलग्नता वा सहयोग चाहिएको छ भने त्यो कुराचाहिँ हामीले गर्ने प्रक्रिया अघि बढ्दाखेरि त्यो तथ्यसम्मत छ यो ठीक छ भन्ने कुरा हामी कन्भिन्स हुनेगरी तपाईंले तथ्य त राख्नपर्यो नि! त्यो प्रक्रियामा मात्रै हामीले उहाँसँग अपेक्षा गर्ने हो। अरू उहाँले नै गर्ने काम उहाँले गर्नुहुन्छ, ठीक छ, हामीले सहयोग गर्ने कुरामा चाहिँ औचित्य पुष्टि गर्ने गरी उहाँले तथ्य दिनुपर्छ। र, त्यसबारेमा समय लिएर सुविचारित रूपले स्टेप चाल्नुपर्छ भन्ने मात्रै हाम्रो कुरा हो।

प्रतिक्रिया दिनुहोस्