Logo
Logo

किसानलाई समयमै मल उपलब्ध गराउन माग


504
Shares

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गरेका हुन् ।

सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराए । सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गरे ।

उनले भने, ‘आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ । यस बीचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त ? एउटा ऐन निर्माण गर्न सकेका छैनौँ ।’

सांसद गिरीले उहाँले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ । यो दुःखद् कुरा हो’, उनले भने । उनले वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको बताए ।

सांसद दीलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गरे । उनले भने, ‘उत्तरी नाका चार वर्षदेखि यी बन्द अवस्थामा छन् । यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ ।’

‘दार्चुलाको एउटा प्रतिनिधिमण्डल काठमाडौँमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र वाणिज्य मन्त्रालयलाई हारगुहार गरिरहेको अवस्था छ । छिटोभन्दा छिटो कूटनीतिक पहलबाट यी नाका सञ्चालनमा आओस्, म आग्रह गर्दछु’, उनले भने । मौसमी नाकाका रुपमा चिनिने उत्तरी नाकाको सम्झौताअनुसार खुला गर्न चीन सरकारले महत्व नदिएको सांसद बडूको दाबी छ ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमको विद्युत् आयोजना नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ आए पनि बजेट सोअनुसार नआएको भन्दै आगामी बजेटमा त्यसतर्फ ध्यानाकर्षण गराए ।

उनले भने, ‘चर्चा हुने तर काम किन नहुने रु कि त निर्माण गरौँ कि त चर्चा गर्न छोडौँ ।’ उनले सवारी दुर्घटनाका कारण अछाम जिल्लाकोे अवस्था तनावग्रस्त भएको भन्दै मृतक हेमराज कुँवरको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सांसद धवलशमशेर जबराले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गराए । उनले भने, ‘वर्षायाम आइसक्यो धान रोप्ने बेला पनि भइसक्यो । तर जिल्लामा मल पुगिरहेको छैन, राज्यले यसको व्यवस्था तुरुन्त गर्न पर्यो ।’ उनले राप्ती नदी र डुडुवा खोलामा तटबन्धका लागि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्