Logo
Logo

बंगलादेशका राष्ट्रपति नेपालमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने सद्भावना भ्रमणको क्रममा मंगलबार नेपाल आएा छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले उनलाई विमानस्थलमा स्वागत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हमिद विमानस्थलबाट होटल म्यारियट जानेछन्।
भ्रमण टोलीमा राष्ट्रपतिकी श्रीमति, दुई छोरा, दुई सांसद, सैनिक तथा प्रेस सचिव, बंगलादेश सरकारका विदेश सचिव सहभागी छन्। उनी विमान बंगलाको नियमित उडानबाट काठमाडौंमा आएका हुन् ।


मंगलबार दिउँसो हमिदले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपति हमिदलाई होटलमा भेट गर्नेछन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले बंगाली समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ।

बुधबार बिहान राष्ट्रपति भण्डारीसँग शितल निवासमा बंगलादेशी राष्ट्रपति हमिदले भेट गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेट हुनेछ। सबै भेटहरु होटल म्यारियटमा हुनेछन्।

बिहीबार बंगलादेशी राष्ट्रपति हमिद पोखराको भ्रमणमा जानेछन्। बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा जाने उनी दिउँसो विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ। पोखराबाट साँझ राष्ट्रपति हमिद काठमाडौं फर्किने कार्यक्रम छ।

शुक्रबार बिहान चन्द्रगिरीमा भ्रमण गरी राष्ट्रपति हमिद साँझ पाँच बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्