
काठमाडौं । महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई कालो मोसो दलेर दुर्व्यवहार गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफले काम गरेको ज्याला माग्दा ठेकेदार कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग पटक-पटक ज्याला माग गर्दा नदिएपछि उनले काम गर्दैगर्दा लगेको औजार लगेका थिए । पछि ठेकेदार मिश्रले औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको परिवारका एक सदस्यले बताए।
स्थानीय निर्माण व्यवसायी मिश्रले फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा बाँधेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
ठेकेदार मिश्रलाई घटनाको भोलिपल्ट प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए ।














