काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको सैद्धान्तिक छलफलका क्रममा उठाइएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले विधेयकलाई पारित गर्नुपर्ने बताए ।
विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पार्दै मन्त्री राईले नेपाल विश्वविद्यालयलाई छुट्टै इकाइका रूपमा मात्र नहेरी समग्र शैक्षिक परिस्थिति र परिवेश मिलाएर अगाडि बढाउनुपर्ने बताए । कुनै त्रुटि र कमजोरी नहुने गरी विधेयक अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
नेपाल विश्वविद्यालयलाई नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्ने गरी सोच्नुपर्ने मन्त्री राईको भनाई छ । उनले विश्वविद्यालय बनाउने गरी नै विधेयकमा संशोधन दर्ता गराउन सांसदहरूलाई आग्रह गरे ।











