Logo
Logo

आफ्नो घरमा त्यो पहिलो दशैँ



समय आफ्नै तालमा बग्दै थियो । समयको त्यो प्रवाहले मलाई पनि केही परिवर्तन त अवश्य दियो । बसाई, रहनसहनदेखि बाँच्ने शैलीमा पनि केही परिवर्तन भयो । तर, त्यो सँगसँगै पहिले नसोचेका समस्याहरू पनि देखिन थाले । कहिले कहिले त एक्लोपनको अनुभूति पनि गरायो ।

खुला अवस्थामा हुँदा भिन्दै खाले यथार्थहरूसँग सामना गर्नुपर्ने रहेछ । बिहे भएको तीन वर्ष पूरा भइसकेको थियो । छोरी दुई वर्षकी थिइन् । दशैं आउँदै थियो । यसपालिको दशैँमा ससुराबुवाले घरमा बुहारीलाई पनि टीका लगाउन ल्याउनु भनि छोरासँग भन्नुभएछ । यसपाली दशैंमा बल्ल पहिलोपटक कहाँ जाउँ कता जाउँ हुनु परेन ।

यसअघि प्रत्येक दशैँमा अरु साथीको घर खोजिहिँड्नुपथ्र्यो । आफ्नो पछाडि ‘घर’ पनि त छ !’ भन्ने लाग्यो । मेरो निम्ति बन्द रहेको काठमाडौंको घरको चुकुल यसपाली खुल्ने भएछ । मनमा अप्ठेरो लाग्दालाग्दै पनि बोलाएको बेलामा जानु राम्रै होला भन्ने भयो ।

एकजना प्रतिष्ठित न्यायाधीशको घर र ब्राह्मण परम्पराको ठूलो परिवारमा मेरो प्रवेश सहज हुने थिएन नै । जाँदाजाँदै बुवाकै कोठामा पसियो । जो जानेको अभिवादन गरेँ, आफैले बोलाएको भएर बुवा खुसी नै देखिनुभयो र नजिकको सोफा देखाएर ‘बस’ भन्नुभयो । ढोकाबाट छिर्नु अगाडिदेखि मन ढुकढुक भइरहेको थियो । केही उत्सुकता, केही डर र केही बाध्यता मिस्सिएको मिश्रित मन थियो । बुवाको स्वागतले मन अलि हलुको भयो ।

एकै छिनमा सासुआमा माथि भान्छाबाट कोठामा पस्न खोज्नुभयो । तस्बिरमात्रै देखेको भरमा पक्कै सासुआमा नै हुनुपर्छ भनेर कोठा बाहिरै गएर खुट्टामा ढोगिदिएँ । आफूलाई जन्मदिने आमाबाहेक अरु कसैको पनि खुट्टामा ढोग्नु मेरो सिद्धान्त विपरित थियो । तर, मैले घरको चलनलाई नै प्राथमिकता दिनु बेस ठानेर ढोगेँ । सासुबाट एक शब्द सुनिनँ ।

जीवनलाई डोर्याउन कति मोडहरू पार गर्नुपर्ने ? श्रीमान डाक्टर भएकाले दिनदिनै बिरामी, उपचार, अपरेशनका कुरा सुनिरहन्थेँ । तर, आफ्नै अपरेशन हुँदै थियो । अपरेशन गर्दा बेहोश भइन्छ भन्ने कुराले डर लाग्न थाल्यो । सोचे, ‘कतै बेहोशीमै सिद्धिइने त हैन ?’

‘आशीर्वाद’ या ‘भयो भयो’ भन्ने औपचारिकतासम्म पनि केही आएन । अनुहार हेर्दा देखेँ– पुरै रिसले तम्तमाएको थियो । मप्रति अझै प्रसस्त रिस बाँकी रहेछ भन्ने बुझेँ । ज्यादै अप्ठेरो लाग्यो । पहिलोचोटी आफ्नी आमाबाहेक अरु कुनै महिलाको पाउमा आफ्नो शिर राख्दै थिएँ ।

हुन त, त्यहाँ पुग्नुअगाडि नै अनुमान नगरेकी हैन– त्यो घर मेरो निम्ति अझै सहज छैन र अनेक असहज स्थितिको सामना गर्नु नै छ भनेर । तर, पनि यथार्थसँग सामना गर्नु भनेको अनुमान गर्नुभन्दा बेग्लै कुरा हुन्छ । बुवाको हातबाट पहिलोपल्ट टीका लगाएँ । पछि सानी छोरीले पनि लगाइन । बेस्सरी खुसी भइन्– निधारभरी टिका र हातभरी दक्षिणा लिएर चुलबुल गर्न थालिन् । एकछिन पछि खाना पनि आयो काम गर्ने मान्छेको हातबाट ।

अन्तरजातीय विवाह अझैसम्म पनि पुरै सहज हुन सकेको छैन । चार दशकभन्दा अघिको त्यो समाजमा झन् के सजिलो हुन्थ्यो ! मजस्तै धेरै बुहारीहरूले भोगेको कुरा हो यो । त्यो दिन ‘आफ्नो घर’मा डेढ–दुईघण्टाको समय बिताउन मेरो निम्ति एकयुग बिताएजस्तै भयो । खानाको स्वाद पनि पाइनँ । त्यसपछि हामी तीनैजना फेरि मेरो माइतीमा टीका लगाउन गयौँ । त्यो पनि पहिलो पाली थियो । माइतीमा भने नातिनी र ज्वाईंसमेत पुग्दा आमा खुसी हुनुभयो ।

घरलाई सम्झँदा स्वागत नभएको घरमा फेरि नपस्ने निर्णय मनमनै गरेँ । पहिलोचोटी घरबाट विरोध हुँदा सरोजले पनि बुवासँग भनेका थिए रे– ‘हजुरको सहमति बिना उसलाई यो घरमा ल्याउँदिन ।’ बुवाले नै ईच्छा दर्शाएर करै गरेपछि गएकी थिएँ । मलाई हेर्ने उद्देश्य नै लिएर बुवा अस्पतालमा समेत धेरैपटक गइसक्नुभएको रहेछ । तर, संयोग नै जुरेन– बुबा जाँदा हरेक पल्ट म बाहिर हुँदिरहेछु ।

दशैँको त्यो नमिठो अनुभव भएको केही हप्तापछि सासु नै अस्पताल पुग्नुभएछ– ठूली नन्दसँग । सोचेकै थिइन– क्वार्टरमा नै आउनुभयो । तर, त्योबेला भने पहिलेझैँ रिस देखाउनुभएन । मैले पनि सकेसम्म आफ्नो कर्तव्य निभाउने प्रयत्न गरेँ । आफ्नो तर्फबाट अप्रिय व्यवहार नहोस् भन्ने कुरामा सक्दो ध्यान पु¥याएँ । उहाँले पनि मसँग हाँसेरै कुरा गर्नुभयो । अचानक बिहानै आउनुभएकाले आफू काम गर्ने स्कूलमा खबर गर्न पनि भ्याइनँ । त्यो दिन सासू र नन्दसँग समय बिताउन क्वार्टरमै बसिदिएँ । घरप्रतिको तीतोपन मेटिदिएँ ।

त्यसपछि बोलाएको बेला घर जान थालेँ । चैते दशैंमा फेरि जानुपर्ने भयो । हरेक साँझजस्तै डाक्टरको काम सकेर निस्कन ढिलै भयो । म लैनचौरमा दिदीको घरमा पुगेर सरोजलाई पर्खेर बसेँ । उनी निकै ढिलोमात्र मलाई लिन आए । अँध्यारोमा खुट्टा कतै अल्झियो र म लडेँ । उठ्दा दुखेर टेक्नै नहुने भयो । जबर्जस्ती खुट्टा लतारिँदै लाजिम्पाट घर पुगेँ ।

दूरी धेरै नभएपनि खुट्टाले बेस्सरी दुःख पायो । पाहुनाजस्तै भएर भात खाएँ । खुट्टा झन्झन् दुख्न र सुनिन थाल्यो । ढिलो पनि भइसकेकोले मनले नमाने पनि त्यहीँ बस्नुपर्ने भयो । जुठो थाल बोकेर तल चोकसम्म पुग्न पनि सकिनँ । छस्स कतैबाट लगाएको वचन सुनिहालियो – ‘कुन्ता’की बुहारी…, थाल पनि नउचाल्ने ।’ बिहान ट्याक्सी लिएर अस्पताल पुगियो । एक्सरे गर्दा हड्डी चर्किएको देखियो । प्लास्टर लगाएर तीनहप्ता आराम गर्नुपर्ने भयो ।

स्कूल जान बन्द भयो । एउटा ह्वीलचेयर ल्याएर कोठाभित्र बाहिर गर्न थालेँ । तर, बाहिर जानै नपाएपछि के गर्ने ? ‘रोइरहनुभन्दा गाइरहनु निको’ त्यही मौका छोपेर म कथाहरू लेख्न थालेँ । नेपालभाषामा ‘झ्यारखाना’ लेखेको त्यहीबेला हो । उता, स्कूलमा भने ‘के निहूँ पाऊँ’ भनेर स्कूलका प्रिन्सिपल बसेका रहेछन् । स्कूलमा त्यो बेला फोन पनि थिएन । खबर पठाउनलाई कोही मान्छे पनि थिएन । ‘खबर नगरी स्कूल नआएको’ भन्ने निहूँ पाए ।

यसैउसै म बाहिर निस्कन नपाउने भएपछि मेरो ओभरियन सिस्टको पनि अपरेशन गरेर सिद्ध्याउँ भन्ने विचार भयो । पाटन अस्पतालमा त्यो बेला अत्यन्त भद्र र सम्मानित गाइनेकोलोजिष्ट डाक्टर एल्ड्रिज थिइन् । अपरेशन गरिदिन उनैलाई अनुरोध गरियो र भर्ना भइयो । क्वार्टरत्यहिँ भएकाले डाक्टरकै अनुमति लिएर सुत्न आफ्नै कोठामा फर्किएँ र पल्टिएर सोच्न थालेँ– जीवन र संघर्षबारे ।

जीवनलाई डोर्याउन कति बाटा र मोडहरू पार गर्नुपर्ने ? श्रीमान डाक्टर भएकाले दिनदिनै बिरामी, उपचार, अपरेशन आदि कुरा सुनिरहन्थेँ । तर, यतिबेला भने आफ्नै अपरेशनको कुरा थियो । अपरेशन गरुन्जेल बेहोश भइन्छ भन्ने कुरा झन्झन् डर लाग्न थाल्यो । ‘बेहोशीमै सिद्धिइने त हैन ?’ भन्ने प्रश्नले छोड्दै छोडेन…।

प्रतिक्रिया दिनुहोस्