काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन ठूलो लगानीको आवश्यकता रहेको भन्दै ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका हुन् ।

उनले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेको धारणा राखे । लगानी बोर्डले सहजीकरण गरेका परियोजनाहरूमा भरपुर सहयोग गर्न र अन्य कार्यालयभन्दा पृथक भएकोले स्रोतको अभाव हुन नदिन बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा प्रकाशशरण महत्तलाई निर्देशन दिएका थिए । बोर्ड बैठकले अपरमस्याङ्दी, तल्लो अरुण, दुधकोशी २ लगाएत ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने निर्णय गरेको अर्थमन्त्री महत्तले बताए । त्यस्तै रसायनिक मल उत्पादनका लागि दुई बैदेशिक कम्पनीहरुलाई बिस्तृत अध्ययनका लागि अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
अर्थमन्त्री महतले ठूला परियोजनाहरुलाई अघि बढाउने र आगमी दिनमा लगानी बोर्डको क्षमतलाई बृद्धि गरि भविष्यमा थप लगानी गर्ने परिवेश तयार गर्न ऐन कानून तर्जुमा गर्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिए । आगामी दिनमा लगानी सम्मेलन गर्ने बिषयमा पनि छलफल भएको उनको भनाइ छ । अर्थमन्त्री महतले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानीको वातावरण तयार गर्नका लागि आवश्यक निर्णयहरु गरेको बताए ।











