Logo
Logo

निदान अस्पतालका सिईओ र चिकित्सक जेल चलान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ कात्तिक ।
नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा ललितपुरको निदान अस्पतालका सिइओ र चिकित्सकसहित पाँचजना जेल चलान भएका छन् ।
ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गाैला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो ।


लामाबाहेक पक्राउ परेका अन्य चारजना मिर्गौेला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै अर्का व्यक्तिको मिर्गाैला निकालिएको थियो ।
अस्पतालले दुई महिनाअघि रामेछाप दोरम्बा–३ घर भएका ५६ वर्षीय शंकरलाल लामाको मिर्गाैला प्रत्यारोपण गरेको थियो । एक व्यक्तिलाई शंकरलालको भान्जा बनाएर मिर्गौला निकाली प्रत्यारोपण गरेको र त्यसबापत आर्थिक लेनदेन भएको पुष्टि भएपछि पक्राउ गरिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए । मिर्गाैला ग्रहण गर्ने लामा र जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आलेलाई पनि पक्राउ गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐनअनुसार कारबाही अघि बढाएको थियो । जून मुद्दामा उनीहरु जेल चलान भएका हुन् ।

बदमासी हुन सक्छ भनेर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत रहने कानुनी समितिले क्रसचेक गर्ने प्रावधान छ । मिर्गाैलादाता कागजपत्रअनुसारकै व्यक्ति हो÷होइन क्रसचेक गर्ने अधिकार समितिलाई छ । निदानमा भएको मिर्गौला खरिद–बिक्रीमा सो समितिको समेत मिलेमतोमा रहेको प्रहरीको आशंका छ । सोही समितिका सदस्य रहेर जिम्मेवारी पूरा नगरेकाले प्रशासन कार्यालयका अधिकृतलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

नर्सले प्रश्न उठाइन्, तर अस्पतालले ढाकछोप ग(यो
२४ साउनमा डा. पुकार श्रेष्ठ नेतृत्वको टिमले बिरामी शंकरलाल लामाको मिर्गाैला प्रत्यारोपण गरेको थियो । त्यसको अघिल्लो दिन एक नर्सले कागजपत्र हेरेर फोटोको व्यक्ति र मिर्गाैला दिने व्यक्ति नमिल्ने भन्दै प्रश्न उठाएकी थिइन् । अस्पतालभित्रै विवादसमेत भयो । तर, विवाद ढाकछोप गरेर मिर्गाैला दिने व्यक्तिकै फोटो टाँसियो । पहिलाको र पछिको फोटोमा फरक–फरक व्यक्ति थिए । त्यसबारे नर्सले प्रश्न उठाउँदा पहिले मोटो भएकोमा अहिले दुब्लाएको भनेर त्यसतर्फ थप बुझ्ने काम नगरी मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
नर्सबाटै प्रश्न उठ्दा पनि अस्पतालले चासो नदिई मिर्गाैला प्रत्यारोपण गराउनुले अस्पतालको मिलेमतो प्रस्ट हुने प्रहरी अधिकारीहरू बताउँछन् । फोटो नमिलेको भनेर प्रश्न उठाउने नर्सले प्रहरीसँग कागज गरिसकेकी छिन् । प्रहरीले सुरुमा अस्पतालबाट कागजपत्र मगाएर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा अस्पतालको मिलमतो रहेको प्रशस्त आधार देखिएपछि बुधबार पक्राउ गरिएको हो ।

अस्पताललाई ११ लाख, पीडितलाई तीन लाख
शंकरलाललाई मिर्गौला प्रत्यारोपण गरेबापत निदान अस्पतालले ११ लिएको छ । यो प्रत्यारोपण गरेबापतको चार्ज हो । यही मोटो रकमका लागि अस्पतालले अवैध धन्दा गरेको प्रहरीले जनाएको छ । पीडित व्यक्तिलाई भने मिर्गौला दिएबापत तीन लाख दिएको खुलेको छ । आर्थिक अवस्था कमजोर भएपछि उनले मिर्गाैला बेचेको खुलेको थियो ।

झुक्याएर मिर्गाैला निकालिएको भन्दै उनले प्रहरीमा जाहेरी दिएका छन् । उनलाई भक्तपुरको एक घरमा निकै चिसो कोठामा राखिएको थियो । उनको स्वास्थ्यमा समेत जोखिम देखिएको ब्युरोका डिएसपी राजकुमार सिलवालले बताए । पीडित हास्यकलाकारसमेत हुन् । एक दलालमार्फत उनले मिर्गाैला बेचेको प्रहरीले जनाएको छ । दलाल, मिर्गाैला लिने व्यक्तिका छोरालगायत केही व्यक्तिको खोजी भइरहेको डिएसपी सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्