Logo
Logo

पहिचान नचाहनेहरु जातीवादी हुन् : अध्यक्ष राई



काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाले पालिकाको आधिकारिक दस्तावेजमा ‘कोशी प्रदेश’ नलेख्ने भएको छ ।
पालिका अध्यक्ष अशोक राईले प्रदेश १ को नाममा विवाद कायम रहँदासम्म पालिकाको कुनैपनि आधिकारिक दस्तावेजमा ‘कोशी प्रदेश’ नलेख्न वडाहरूलाई परिपत्र गरेको बताए ।

प्रदेश १ को पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबार पालिकालाई ज्ञापनपत्र बुझाएको थियो । सो आधारमा सबै वडामा कोशी प्रदेश तत्काल नलेख्न भनिएको र निर्णयका लागि छलफल भइरहेको पालिका अध्यक्ष राईको भनाइ छ ।

‘संघ र प्रदेशले लेख्नु भनेर आयो भने पछि छलफल गरौँला । अहिलेचाहिँ हामीले कोशी प्रदेश लेख्दैनौँ र कोशी लेखेको कुनैपनि कागज चलाएका छैनौँ’ दृष्टि न्युजसँग कुरा गर्दै उनले भने, ‘कर्मचारी र वडाका साथीहरुलाई त्यहिँ भनेको छु । यसमा सबैको सहमति रहेको छ ।’

गत निर्वाचनमा काँग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादीबाट निर्वाचित अध्यक्ष राईले पहिचान पक्षधरको माग जायज भएको भन्दै सरकारले प्रदेश १ को नाम तत्काल सच्याउनुपर्ने बताए । ‘पहिचानको आन्दोलन जायज छ भन्ने मेरो बुझाई हो । कोशी नलेख्नु पनि एउटा सांकेतिक विरोध हो’ उनको भनाइ छ ।

‘कुनैपनि राज्यमा त्यहाँका नागरिकले अपनत्व महशुस गर्न सकेन भने त्यहाँ न भनेजस्तो विकास हुन्छ, न शान्ति । मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउनका लागि साझा सहमति, साझा प्रस्ताव र साझा निर्णयमा जोड गर्नुपर्छ’ उनले भने ।
प्रदेशसभाका सांसदहरुले नामको विषयमा छलफल नै नगरी बहुमतको दम्भमा जनताको मागलाई बेवास्ता गर्दै हिजोको एकल जातीय सोचलाई निरन्तरता दिएको उनले बताए ।

प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्छ भन्दा यसलाई जातीय भनेर ब्याख्या गर्नु गलत भएको उनले बताए । ‘किरात, लिम्बुवान सभ्यतालाई हामी राई, लिम्बुको मात्रै हो, क्षेत्री बाहुनहरुको चाहिँ होइन भनेर एकल जातीय सोच भएकाहरुले भनिरहेका छन् । यो गलत छ’ उनले भने, ‘प्रदेश सरकारले समग्रमा यहाँको सभ्यता, भूगोल, ईतिहास, आम मनोविज्ञानलाई सम्बोधन गर्ने शब्द किरात, लिम्बुवानलाई छुट्याउनु नै अन्याय हो ।’

प्रदेशको नाम किरात, लिम्बुवान हुनु हुँदैन भन्नेहरुचाहिँ दक्षिणपन्थी र जातीवादी देखिएको उनको बुझाइ छ । उनले भने, ‘पहिचान पक्षधरको मागलाई सम्बोभन गर्न नचाहनेहरु एकल नश्लीय जातीवादी हुन् । त्यसैले प्रदेश सरकारले आफ्नो निर्णय सच्याउँनुपर्छ । नसच्याए यो जनताको सरकार हुँदैन ।’

प्रदेश १ को नाम कोशीविरुद्ध पहिचान पक्षधरहरुको आन्दोलन जारी छ । उनीहरुले विभिन्न स्थानीय तहमा तालाबन्दी र कोशी लेखिएको सरकारी कागजातहरु च्यात्नेदेखि साइनबोर्ड हटाउने जस्ता विरोधका अभियानहरु चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्