Logo
Logo

‘जारी’को आक्रामक व्यापार



काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘जारी’ शुक्रबारबाट देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ । बरिष्ठ कवि तथा लेखम उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले घरेलू बक्सअफिसमा बम्पर सुरुवात गरेको छ ।

एड्भान्स बुकिङमै आक्रामक ओपनिङ गरेको फिल्मले पहिलो दिन २ करोड १ लाख कमाएको वितरक कम्पनी ‘द टी फल्क्स फिल्म्स’ले जानकारी दिएको छ । शुक्रबार फिल्मको देशभरका हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो भने शनिबारको व्यापार थप आक्रामक देखिएको छ ।

फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ८० बढी शो उपलब्ध गराएकामा सबै शो भरिएका थिए । वितरक उज्वल पौडेलका अनुसार फिल्मले मोफसलका ठूला सहरमा आक्रामक सूरुवाती कमाइ गरेको छ ।

बिर्तामोडस्थित क्यूएफएक्सको वान स्टप र पाथीभरा सिनेमा, इटहरीको आरएस सिनेफ्लिक्स, धरानको फ्रेन्ड्स मुभी र क्यूएफएक्सको विराटनगरस्थित हलमा फिल्मको शो लगभग सोल्डआउट भएको थियो ।

प्रदर्शनमा आउनअघि नै मल्टिप्लेक्सका कति शोज ‘सोल्डआउट’ भैसकेका थिए भने दोस्रो दिनको कमाई २ करोड ३० लाखभन्दा बढी हुने प्रक्षेपण गरिएको थियो । त्यसो त फिल्म जारी प्रदर्शन गरिएको हलहरुमा कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए भने कतिपय हलहरुमा टिकटककै लागि विवाद भएकोे भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।

फिल्मलाई उत्कृष्ट प्रतिक्रिया
फिल्मले लिम्बू संस्कारमा रहेको जारी प्रथालाई मियो बनाएर श्रीमान, श्रीमतीबीचको सुन्दर प्रेमकथा देखाएको छ । फिल्मको पटकथा र संवाद सशक्त छ । अभिनेता दयाहाङले यस फिल्ममा आफूलाई निकै निखारेका छन् ।

रिसाहा र कारुणिक दुवै खालका दृश्यमा उनी अब्बल देखिएका छन् । अभिनेत्री मिरुना मगरले निकै सशक्त भूमिका पाएकी छन् । धेरै अभिनय उनले आँखाबाटै गरेकी छन् । कबड्डी–४ बाट जोडिएको दयाहाङ–मिरुनाको केमेस्ट्री लगातार दोस्रोपटक सफल देखिएको हो ।

फिल्मका अर्का खम्बा विजय बरालको अभिनय कबड्डीभन्दा फरक भुमिका देखिएका छन् । आफ्नो गहकिलो अभिनयले बेग्लै प्रभाव छोड्न सफल देखिएका उनले आफू कुन स्तरको कलाकार हुँ भन्ने देखाइदिएका छन् ।

यो फिल्म अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका मुलुकमा अप्रिल पहिलो साता रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज तय भएको छ । अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुन निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर त्यसतर्फ प्रस्थान गर्नेछन् ।

‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट लेखनमा आफूलाई अब्बल प्रमाणित गराएका उपेन्द्र सुब्बाले ‘जारी’मार्फत लिम्बू समुदायको परम्परा, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषालाई कथामा गाँसेर सानदार ढंगले प्रस्तुत गरेका छन् ।

‘कबड्डी’का निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसना नेम्बाङ, सीताकुमारी तुम्बापो लगायतको पनि अभिनय छ ।

फिल्म जारीले मौलिकता र सिर्जनात्मकताको आभास दिँदै नेपाली फिल्म उद्योगलाई नै नयाँ रक्तसञ्चार गरेको समिक्षकले उल्लेख गरेका छन् । समिक्षकहरुका अनुसार दर्शकलाई ‘जारी’ले निराश नबनाउने मात्र होइन, तृप्त र आनन्दित बनाएर घर फर्काउने फिल्ल्ममा नेपाली माटोको सुगन्ध दिएको छ ।

प्रदर्शनमा आएकै दिन लिक
यस्तै फिल्म रिलिज भएकै दिन वैशाख १ गते राति सामाजिक सञ्जालमा जारी लिक भएको थियो । १ घण्टा ४१ मिनेट लामो क्लिप लिक भएको हो ।

लिक भएपछि त्यसलाई हटाउनेगरी निर्माण पक्षले काम गरिरहेको निर्देशक सुब्बाले बताए । चलचित्रको फुटेज सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै कानूनी प्रक्रियामा जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्