Logo
Logo

‘जारी’ले दुई दिनमा कति कमायो ?



काठमाडौं । फिल्म ‘जारी’ले दुई दिनमै ५ करोड बढी कमाई गरेको छ । घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको यो फिल्म नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको हो ।

फिल्मले पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ ग्रस हाराहारी गरेको छ । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि छ ।

दुई दिनमै फिल्मको कुल कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि छ । काठमाडौंसहित पूर्वी सहरका हलहरु शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आएका जारीले पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि आक्रामक ओपनिङ गर्यो ।

तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ । यो फिल्मले सकारात्मक समीक्षा पाईरहेको छ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले झनै ‘जारी’लाई फाइदा पुग्यो ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथामा आधारित छ । विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।

यस्तै, ‘जारी’ चल्दा दयाहाङ अभिनित अर्को फिल्म ‘बिहेपास’लाई पनि बक्स अफिसमा फाइदा पुगेको छ । दयाहाङ र प्रकृति श्रेष्ठ स्टारर फिल्मले पनि सन्तोषजनक कमाइ गरिरहेको छ । नयाँ वर्षमै रिलिज भएको अर्को फिल्म ‘बुलाकी’ले आफूलाई बक्स अफिसमा स्थापित गराउन भने सकेन । स्वदेशमा उत्कृष्ट कमाइ गरिरहेको जारी अमेरिका, युरोप र अष्ट्रेलियामा वैशाख १ गतेदेखि नै प्रदर्शनमा आइरहेको छ ।

३२ सामाजिक सञ्जाल एकाउन्टविरुद्ध उजुरी
हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भएको छ । निर्माण पक्षले यसविरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती पोस्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्