काठमाडौं । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्यकारी निर्देश्क पौडेलले राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्याएको दावीसहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा उत्पादित जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अख्तियारको आरोप छ ।
प्रवक्ता दाहालका अनुसार पौडेलले खरिद सम्झौता बमोजिम काम नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रिम रुपमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिस्टम खरिदबाट सरकारको सम्पत्ति गैरकानुनी रुपमा हिनामिना गरेको पाइएको छ ।
अख्तियारले पौडेलसँगै मेकानिकलतर्फका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्यकारी निर्देशक पौडेलमाथि ६९ करोड, सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलमाथि २० करोड, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ ।
यस्तै, रोहितमान प्रधानमाथि २३ करोड ४४ लाख, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख, मिल लाल गुरौंमाथि ८ करोड ६९ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।











