Logo
Logo

रुप ज्योती प्रकरणः प्रहरीद्वारा गल्ती स्वीकार, पीडित भनिएकाद्वारा उजुरी फिर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ कात्तिक ।
रुप ज्योती प्रकरणमा प्रहरीले गल्ती स्वीकारेको छ । विवादमा फसेपछि प्रहरीले घटनाको मिलपात्र प्रक्रिया अघि बढाएको छ ।
ज्योति परिवारले ल्याण्डमार्क हाउजिङमा घर दिने भन्दै पैसा लिएर ठगेको जाहेरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता गर्न माग गर्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्। मल्लको जाहेरी फिर्ता गरिपाउँ भन्ने निवेदन परेको सहन्यायाधीवक्ता तथा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले बताए।

प्रहरीले रूप ज्योतिमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए। मल्लले भने रूप ज्योतिविरूद्ध दिएको मुद्दा फिर्ता गर्न नेगोसियसन भइरहेको बताए।

’हामीले मिलापत्र गर्ने कुरा भएको छ, तर हुन्छ कि हुन्न अझै टुंगो छैन। मैले मेरो पैसा फिर्ता र ठगी भएकोले क्षतिपूर्ति पनि माग गरेको छु। जग्गा पाए त हुन्थ्यो तर उनीहरू असमर्थ भएपछि क्षतिपूर्तिसहित पैसा भए हुन्छ भनेर मिल्ने भनेको हुँ,’ उनले भने, ’मुद्दा पनि ४÷५ पाँच वर्ष लागिहाल्छ। मलाई न्याय चाहिएको हो त्यो पाए भयो।’

मल्लले ल्याण्डमार्क डेभलपर्स कम्पनीले बेच्ने भनेको घर किन्न २०७१ साल भदौमा एक करोड ३६ लाखमा बैना गरे। पछि कम्पनीले दिन नसक्ने भन्दै ब्याजसहित पैसा फिर्ताको प्रस्ताव गरेको थियो । उनले पाँँच करोड मागेपछि विवाद भएको थियो । लेनदेन विवादमा प्रहरीले ठगी मुद्दा चलाएपछि प्रहरी विवादमा परेको थियो । सोही कारण एक सातामै प्रहरीले अनुसन्धान सकेर आफु पन्छिने बाटो बनाएको छ ।
सो निवेदनका आधारमा सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेर ज्योती र उनकी छोरीलाई छाड्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्