
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको ‘कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी’ विषयक कार्यक्रमलाई आइतवार राति भर्जुअल सम्बोधन गर्दै उनले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने भन्दै उनले सो आग्रह गरेका हुन् ।
मन्त्री शर्माले नेपालको विकास प्रक्रियामा सूचना प्रविधिको क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरु तथा ब्यवसायीहरुको सहयोगबाट देशको अर्थन्त्रलाई नयाँ उचाईमा पुर्याउन, रोजगारी सिर्जना गर्न यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक रहेको भन्दै नेपालमा यसको लागि अनुकुल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि आग्रह गरे ।
खास गरी विदेशमा आर्जन गरेको ज्ञान, सिप, सक्षमता र पूँजीको परिचालन गरी अन्य देशहरुले विकासमा फड्को मारिसकेको स्मरण गर्दै उनले नेपालमा भने विद्यमान स्रोत साधनलाई यथोचित परिचालन गर्न नसक्दा पछाडि परिरहेको बताए ।
विश्व अर्थतन्त्रमा नेपालको विद्यमान अवस्थालाई पुनः परिभाषित गर्नका लागि नवप्रवर्ततन, अनुसन्धान र विकासमा लगानी गर्न उहाँले सूचना प्रविधि विज्ञहरू र व्यवसायीहरूलाई आग्रह गरे ।
‘हामीले सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन देशको व्यवसायिक वातावरणमा थप सुधार गर्नुपर्छ । यसका लागि सूचना प्रविधि, दूरसञ्चार, साइबर सुरक्षा र व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित कानूनको संशोधन आवश्यक हुन्छ’ उनले भने, ‘यसका लागि संस्थागत क्षमतामा सुधार र सार्वजनिक र निजी क्षेत्रबीचको संवाद समेत आवश्यक हुन्छ ।’
सरकारले आईटी कम्पनीहरूको लागि नेपाललाई विश्व स्तरको गन्तव्यस्थलको रूपमा चिनाउन यहाँहरूले सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा आइरहेका नविनतम विश्वव्यापी असल अभ्यासहरु र सोचलाई नेपालमा कसरी लागु गर्न सकिन्छ र त्यसको लागि विद्यमान कानून तथा संस्थागत ब्यवस्थालाई कसरी पुर्नपरिभाषित गर्न सकिन्छ भन्ने विषयमा यथार्थपरक र लागू गर्न सकिने सुझाववको अपेक्षा गरेको पनि मन्त्री शर्माले बताए ।











