Logo
Logo

चलचित्र राम्रो बनाउनूस्, आफैँ उच्च शो पाउँछ : वितरक राठी



काठमाडौं । चलचित्र वितरक मनोज राठीले राम्रो चलचित्र बनाए आफैँ उच्च शो पाउने बताएका छन् । नेपाली चलचित्रका वितरक र प्रदर्शकलाई नेपाली सिनेमालाई नै ‘हेला’ गरेको आरोप लाग्ने गरेको भन्दै उनले राम्रो चलचित्र बनेको अवस्थामा त्यसले स्वत उच्च शो पाउने बताए ।

‘चलचित्र राम्रो बन्नुपर्छ । त्यसले स्वतः राम्रो शो पाउँछ । हामीलाई नेपाली भएर नेपाली सिनेमालाई नै शो नदिएको भन्ने आरोप लाग्ने गरेको छ । केही दिन अगाडि चलचित्र ‘जारी’को प्रिमियरमा उनले भने, ‘जुन चलचित्र राम्रो छ, त्यसैले उच्च शो पाउने हो । राम्रो चलचित्र नबनेको अवस्थामा त्यसले उच्च शो चाहेर पनि पाउँदैन ।’

शो बाँडफाँटमा वितरकको भने खासै भूमिका नहुने भन्दै उनले भने, ‘जारीले उच्च शो पाएको छ । राम्रो सिनेमाले यसैगरी राम्रो शो पाउँछ ।’ सिनेमा हलहरूले दर्शकको ‘इन्क्वाइरी’का आधारमा शो बाँडफाँट हुने गरेको उनको भनाई छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ले तीनवटा सिनेमा एकैदिन रिलिज हुँदा सबैभन्दा धेरै शो पाएको थियो । दर्शकको चाप उच्च रहँदा अरु सिनेमाको शो घट्दै जाँदा ‘जारी’ले भने शो बढाउँदै लगेको थियो । दयाहाङ राई र मिरुना मगर मुख्य भूमिका रहेको फिल्म ‘जारी’ राम्रो प्रतिक्रिया पाईरहेको छ ।

वैशाख १ गते ‘जारी’सँगै दयाहाङकै ‘बिहे पास’ पनि रिलिज भएको थियो । यो फिल्मले पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । चलचित्र ‘बुलाकी’ रिलिज सोही दिन प्रदर्शनमा आएको थियो । तर, बुलाकी टिमले यो चलचित्रलाई हलबाट प्रदर्शन रोक्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्