
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनमा कुनैपनि दलसँग तालमेल नगरेको बताएका छन् । आज मतदान भइरहेको चितवन- २, तनहुँ-१ र बारा-२ उपनिर्वाचनमा विभिन्न दलका नेताहरुले रास्वपाले आफ्नो पार्टीलाई समर्थन गरेको भन्दै भ्रम फैलाई मत माागेको भन्दै सभापति लामिछानेले उपनिर्वाचनमा कसैसँग तालमेल नभएको बताएका हुन् ।
उनले आज बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै विभिन्न पार्टीका नेताहरुले फेक न्युज कारखाना चलाएर रास्वपाका विरुद्धमा गलत सूचना प्रवाह गरिरहेको दाबी गरेका छन्। उनले गलत प्रचारको पछि नलागी उपनिर्वाचन भइरहेको तीनै क्षेत्रमा भोट घण्टी लाई नै हाल्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
सभापति लामिछानेले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युज कारखाना चलाइ तालमेलकाे भ्रम फैलाइएकाे बताए । उनले हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न मतदातालाई आग्रह समेत गरेका छन्।
‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’
साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्।














