
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसअघि शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ९ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको भाउ ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।











