चितवन । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा विवादका कारण मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब दुई घण्टादेखि र कृष्णपुरमा भने आधा घण्टादेखि रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।
रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको थियो ।
सोक्रममा केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो भने भागाभाग समेत भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको छ । अहिले अवस्था सामान्य छ तर मतदान सुरु भएको छैन ।











