चितवन । चितवन–२ स्थित भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतदान सुरू भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकले हुटिङ गरेपछि मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेपछि मतदान रोकिएको थियो ।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ ।
लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको र आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ । मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत भएको छ ।











