काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही १८ वैशाखदेखि सञ्चालनमा आउने भएको छ । नवलपुरको गैंडाकोट १ मा निर्माण सम्पन्न केवलकार वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको १८ बैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् ।
केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जानेका लागि सहज हुने भएको छ । केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।
केवलकार सञ्चालन भएपनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपकै मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य काठमाडौँको चन्द्रागिरिमा सञ्चालनमा रहेको छ ।
त्यस्तै, यस गु्रपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रा.लिद्वारा प्रवद्र्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।











