Logo
Logo

पहिचानवादीको विराटनगर केन्द्रीत आन्दोलन स्थगित


2.6k
Shares

काठमाडौं । ‘कोशी प्रदेश’ नामाकरणविरुद्ध आजदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन स्थगित भएको छ ।

पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गराउनेगरी आन्दोलनलाई निर्णायक बनाउन भन्दै ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले आजदेखि विराटनगरमा पहिचानवादी आन्दोलन स्गर्ने तयारी गरेको थियो । तर, समितिले आज विज्ञप्ति जारी गर्दै उक्त आन्दोलन केही समयका लागि रोकिएको जानकारी दिएको हो ।

‘वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेशसभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुनः नामकरण गर्ने गराउनेगरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

वैशाख ११ देखि २१ गतेसम्म अब संघर्ष समिति गठन हुन बाँकी रहेका प्रदेशका हरेक वडावडामा समिति गठन गरिसक्ने, पूर्वघोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, सरकारी कार्यालयहरूमा ‘कोशी’ लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम विरुद्धका कार्यक्रमहरू निरन्तर गर्ने समितिले जनाएको छ ।

साथै ‘कोशी’ प्रदेश नाममा मत दिएका प्रदेश सांसदहरूलाई भेटेर हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने, ८२ सांसदको विरुद्धमा विरोधसभा गर्ने, विराटनगरमा ती सांसदहरूलाई कोठा भाडामा नदिन घरवालाहरूलाई अनुरोध गर्ने कार्यक्रम गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्