बुटवल । लुम्बिनी प्रदेशमा एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ ।
सोमबार बहुमतको सरकारबाट बाहिरिएको एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारीसहित प्रदेश प्रमुखलाई उक्त आग्रह गरेको हो ।

कामचलाउ मुख्यमन्त्री गिरीले सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रहपत्र बुझाएका हुन् । विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी तोकेका थिए ।
यसलगत्तै सोमबारको मन्त्रिपरिषद् बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।
एमालेले नयाँ सरकार गठन गरेर पुनः एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दाबी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।
प्रदेश प्रमुख कार्यालयले अब नयाँ सरकार गठनका लागि कुन धाराअनुसार आह्वान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरुसँग छलफलमा रहेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, कांग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३, स्वतन्त्र २, जनमोर्चा १, एकीकृत समाजवादी १ सांसद छन् ।











