Logo
Logo

किन घट्यो बैंकहरूको नाफा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ मंसिर । विगत लामो समयदेखि अत्यधिक नाफा कमाउँदै आएका मूलतः वाणिज्य बैंकहरूको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रयमासको अवस्थालाई विश्लेषण गर्दा यो वर्ष थोरै मात्र खुद नाफा हुने आँकलन गर्न सकिन्छ । गत आर्थिक वर्षको पहिलो त्रयमासमा झण्डै ५० प्रतिशतको हाराहारीमा नाफा बढाउन सफल भएका बैंकहरू यो वर्षको सोही अवधिमा करिब पाँच प्रतिशतको हाराहारीमा मात्र खुद नाफा बढाउन सफल भएका छन् । बैंकहरूले उक्त अवधिमा पर्याप्त लगानीको निम्ति पर्याप्त नगद तरलताको अभाव र परिवर्तित स्प्रेड दरका कारण आफूहरूको नाफामा असर परेको प्रतिक्रिया दिएका छन् ।

Nepal Banks Interest rate

पछिल्लो केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूले स्थानीय निकायहरूमा आफ्नो उपस्थिति जनाउनको लागि यसबीचमा धेरै शाखाको बिस्तार गरेका छन् । यसले पनि सञ्चालन खर्च बढाएको मान्न सकिन्छ । केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूमा प्रविधिको जोखिम बढेकाले नयाँ प्रविधिको प्रयोगमा अत्यधिक खर्च भएकोले पनि नाफामा असर परेको मान्न सकिन्छ । बजारमा सक्षम जनशक्तिको अभाव भएकाले उपल्लो तहको लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट धेरै तलब भत्ता दिएर नयाँ कर्मचारी भित्र्याउने प्रचलनले पनि उनीहरूको नाफामा असर परेको स्वयम् बैंकरहरू बताउँछन् ।

तर, केन्द्रीय बैंकका अधिकारीहरू भने बैंकहरूबीच नै विगतको तुलनामा चर्को प्रतिस्पर्धा बढेकोले स्वतः नाफाको वृद्धिदरमा पनि कमी आएको बताउँछन् । तर, पछिल्लो तथ्यांकले उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह निकै बढाएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार उक्त अवधिमा निक्षेप संकलन औसतमा ३ प्रतिशतले र कर्जा प्रवाहमा १६ प्रतिशतले बढोत्तरी भएको देखिनुले पनि बैंकहरू आक्रामक रूपमा कर्जा प्रवाहमा सक्रिय भएपनि तुलनात्मक रूपमा नाफा कम हुनु चासोको विषय बनेको हो ।

बैंकहरूको नाफामा प्रत्यक्ष असर पार्ने तत्वहरूमध्ये तिनका सञ्चालन खर्च मुख्य रहेको छ । बैंकहरूले अथाह नाफासँगै विगतका वर्षदेखि अस्वाभाविक रूपले सञ्चालन खर्च पनि बढाउँदै आएका छन् । त्यसको सोझो प्रभाव चालु आर्थिक वर्षको पहिलो त्रयमासको नाफामा परेको हो । यता, सरकारले पनि करको दायरालाई फराकिलो बनाएको छ । बैंकको नाफामा दोस्रो ठूलो असर उनीहरूको खराब कर्जा र त्यसको असुलीको प्रवृत्तिले पारेको हुन्छ । बैंकहरूको खराब कर्जाको असुली तुलनात्मक रूपमा बढेको छैन भने नयाँ खराब कर्जाहरू सतहमा देखिएपछि तत्काल त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले पनि बैंकहरूको नाफाको वृद्धिदर घट्दो अवस्थामा पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २८ वटा वाणिज्य बैंकहरूले लगानी गरेको कर्जा र प्राप्त नाफालाई हेर्दा सबैभन्दा बढी प्रतिशत नाफा गर्ने बैंकमा एनएमबी बैंक देखिएको छ भने नाफाको प्रतिशत धेरै गुमाउनेमा नेपाल बैंक लिमिटेड परेको छ । यो अवधिमा अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको पनि विगतको तुलनामा झण्डै ८ प्रतिशतले वृद्धिदर घटेको देखिन्छ भने कृषि विकास बैंकको चाँही विगतको तुलनामा १० प्रतिशतको हाराहारीमा बढेको छ । प्रतिशतको आधारमा नाफाको वृद्धिदर घटेका बैंकहरूमा क्रमशः नेपाल इन्भेष्टमेण्ट बैंक र एनसीसी बैंक २० प्रतिशत, सिभिल बैंक १५ प्रतिशत, एसबीआई बैंक ११ प्रतिशत, सिटिजन्स बैंक १९ प्रतिशत रहेका छन् । यो अवधिमा सिद्धार्थ बैंक र बैंक अफ काठमाडौंको नाफाको प्रतिशत भने १ प्रतिशत भन्दा कमको दरले मात्र घटेको पछिल्लो तथ्यांकले देखाएको छ ।

२८ वटा वाणिज्य बैंकहरूमध्ये नौ वटाको नाफा वृद्धिदर घटेको छ । बाँकी १९ वटा बैंकहरूमध्ये क्रमशः एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, सनराईज बैंक, सेञ्चुरी बैंक, एनआईसी एसिया बैंकहरूले ३० प्रतिशत भन्दा बढीले नाफाको दर बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले गरेको नाफालाई रकमको आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब रूपैयाँ भन्दा बढी आर्जन गरेको छ भने, नबिल बैंक र एनआइसी एसिया बैंकले पनि यो अवधिमा आफ्नो नाफालाई एक अर्ब रूपैयाँ नघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्