
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।
प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव रिमालले एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताएका हुन् ।
अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनले बताए ।
फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए । उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’











