काठमाडौं । तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका छन् ।

मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका हुन् ।
‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ । हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ । सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु’, उनले भने ।
उनले आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै तनहुँवासीले गर्व गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । तनहुँवासीको आशा, भरोसा र विश्वासलाई डगमगाउन नदिने उनको भनाई थियो ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले एक कार्यक्रमबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका छन् । डा. वाग्ले ३४ हजार ९११ मत प्राप्त गरी तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् ।











