काठमाडौं । उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्ब पार्टी (राप्रपा)लाई धक्का लागेको छ । वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा राप्रपाले ३ वटै क्षेत्रमा उम्मेदवारी दिएको थियो । तर, तीन क्षेत्रका उम्मेदवारको जमाना जफत भएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरूङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल तेलीलाई राप्रपाले उम्मेदवार बनाएको थियो । तर, यी तीनै जना उम्मेदवारले सदर मतको १० प्रतिशत मत नल्याउन सकेनन् । यससँगै उनीहरूको धरौटीसमेत जफत भएको हो । प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारले जनही १० हजार रुपैयाँ धरौटी राख्ने व्यवस्था छ ।
तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुँदा राप्रपा उम्मेदवार गुरूङले २ सय १८ मत मात्रै पाएकी थिइन् भने चितवन २ मा रवि लामिछाने ५४ हजार ९ सय ७६ मतसहित निर्वाचित हुँदा यो क्षेत्रमा राप्रपा उम्मेदवार पुरीले ३ सय ७५ मत मात्रै ल्याए ।
यस्तै, बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मतसहित निर्वाचित हुँदा राप्रपा उम्मेदवार तेलीले जम्मा १ सय १९ मत मात्रै पाए । गत मंसिरमा राप्रपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ७ गरी १४ सिट जितेको थियो ।











