Logo
Logo

राष्ट्रियसभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा तीन सदस्य मनोनयन


1.4k
Shares

काठमाडौं । राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा तीन सदस्यको नाम मनोनयन गरेको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तीन सदस्यहरुलाई मनोनयन गरेको हो ।

समितिमा राष्ट्रियसभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए ।
बैठकले उनीहरुको नाम सर्वसम्मत सहमति जनाएको छ । शर्मा नेकपा माओवादी केन्द्र, दाहाल एमाले र रायमाझी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था गरेको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य गरी १५ जनाको समिति गठन हुनेछ । जसमा राष्ट्रियसभाका ३ जना र बाँकी प्रतिनिधिसभाका सदस्य रहनेछन् ।

प्रतिनिधिसभाले भने दलीय सहमति नहुँदा सुनुवाइ समितिमा नाम पठाउन सकेको छैन । संसदीय समितिमा कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नाम पठाउन नसकेको हो । साना दलहरुले पनि नाम पठाइसकेो छ । बैठकअघि सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिएका जानकारी दिए ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुखले भोलि (बिहीबार)सम्म नाम पाठाउन दलहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘तपाइँहरूले नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस्