काठमाडौं । प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मुल्याँकनको नतिजाप्रति समाजवादी प्रेस संगठन, नेपालले ध्यानाकर्षण जनाएको छ ।

समाजवादी प्रेस संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै हालै काउन्सिलले गरेको वर्गीकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वर्गीकरण पुर्वाग्रही र विभेदपूर्ण भएको भन्दै समाजवादी प्रेस संगठन पुनः वर्गीकरणको व्यवस्था गर्न समेत माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पत्रपत्रिका वर्गिकरणको नतिजा मनोमानी, पुर्वाग्रही, विभेदपुर्ण र अवैज्ञानिक रहेको हाम्रो संगठनको ठहर छ । हाम्रो संगठन कथित मुल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निश्पक्ष ढंगले पुनः वर्गीकरण गर्ने व्यवस्था गरियोस् भन्ने जोडदार माग गर्दछ ।’
साथै, प्रेस क्षेत्रको नियमन गर्ने र न्याय सम्पादन जस्तो महत्वपूर्ण कर्तव्य निर्वाह गर्नुपर्ने प्रेस काउन्सिलको भुमिका निष्पक्ष र जिम्मेवारीपूर्ण हुन नसक्नु दुःखद् पक्ष भएको समेत समाजवादी प्रेस संगठनले जनाएको छ ।
‘प्रेसलाई मर्यादित बनाउने तथा पत्रपत्रिकाको मूल्याङ्कन गर्ने जिम्मेवारीमा रहेको प्रेस काउन्सिलको नेतृत्व राजनीतिक पुर्वाग्रहबाट माथि उठेर आफ्नो भुमिकामा निष्पक्षता र पारदर्शिता कायम गर्न तथा सबैको विश्वास र भरोसा जितेर काम गर्न हाम्रो संगठन माग गर्दछ’ समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष शम्भु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











