काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापामा कालो झण्डासहित विरोध प्रदर्शन गरेपछि एमाले र उसका भ्रातृ संगठनहरू प्रधानमन्त्रीविरुद्ध उत्रिएका हुन् ।

बिहीबार अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।
प्रदर्शनमा सहभागीहरुले माओवादीले यसअघि लडाकुका लागि लिएको रकमको हिसाब सार्वजनिक नगरेको, देशमा आर्थिक संकट बढ्दै जाँदा पनि त्यसलाई बेवास्ता गरेर आफ्ना कार्यकर्ता पोस्न लागेको भन्दै विरोध समेत जनाएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले गत चैतमा अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको थियो । जस अनुसार गृह मन्त्रालयले कार्यविधि नै तयार गरिसकेको छ ।
५ मंसिर २०६३ को विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) नेपाल आएको थियो । उसले १९ हजार ६०२ जना लडाकूहरुलाई प्रमाणीकरण गरेको थियो ।

४ हजार ९ जनालाई ‘मापदण्डमा नपरेको’ भनी अलग गरेको थियो । अयोग्य ठहरिएका तिनै लडाकुहरुलाई राहत दिने सरकारले निर्णयको विरोधमा अनेरास्ववियूले प्रदर्शन गरेको हो ।











