Logo
Logo

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई कारबाही गर्ने पर्यटनमन्त्रीको चेतावनी


4.6k
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री किरातीले आफूले काम गर्ने वातावरण बनाइदिएको भन्दै अब पनि काम गर्न नसके कार्यकारी अध्यक्ष अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । काम गर्न नसक्ने हो भने सहजै जिम्मेवारी त्याग्न पनि मन्त्री किरातीले आग्रह गरे ।

निगमको वार्षिक समीक्षा बैठकमा कार्यकारी अध्यक्ष अधिकारीलाई किरातीले भने- ‘अब पनि काम गर्न सक्नु भएन भने कारबाही गर्छु । काम नगर्ने को–को हुन् कारबाही गर्नुहोस् । तर, काम नगर्ने छुट छैन । यदि, काम गर्न नसक्ने हो भने सल्लाह गरेर नै छाडेर जानुस् । तपाईंलाई सौहार्द्रपूर्ण ढंगले बिदा गर्न तयार छौं ।’

उनले कार्यकारी अध्यक्ष अधिकारीलाई शक्तिको ढोका चहार्ने काम बन्द गर्न निर्देशन पनि दिए । ‘आज तपाईंले जसरी मुखले प्रतिवद्धता गर्नुभयो, सोही अनुसार काम गर्नुहोला । बाहिर शक्तिको ढोका नचहार्नु होला । राम्रो काममा सधैँ मेरो सहयोग र संरक्षण रहने छ,’ मन्त्री किरातीले भने ।

मन्त्री किरातीले निगमका बोर्ड सदस्यहरूले पनि काम नगरी सुविधाका लागि मात्र होडबाजी गर्ने गरेको आरोप लगाए । बोर्ड सदस्यहरूले काम नगरे उनीहरूलाई पनि कारबाही गर्ने मन्त्री किरातीले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्