काठमाडौं, ३ मंसिर ।
अन्ततः बुधबार मन्त्रीपरिषद् हेरफेर हुने भएको छ । करिब १० महिनाअघिदेखि नै केही मन्त्रीहरु हेरफेर हुने चर्चा थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिँदै बुधबार काठमाडौं उपत्यका भन्दा बाहिर कार्यक्रम नबनाउन पनि निर्देशन दिएका हुन् ।
‘कोही पर्नुहोला, कोही नपर्नुहोला । भोलि म मन्त्रिपरिषद हेरफेर गर्दै छु,’ प्रधानमन्त्रीले बैठकमा भनेको भनाई उद्धत गर्दै एक मन्त्रीले भने, ‘अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद। भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला कार्यक्रममै हुँदा मन्त्री पद खुस्कियो भनेर गुनासो गर्नुपर्ला ।’
बुधबार नै मन्त्रिपरिषद् हेरफेर गर्ने ओलीको तयारी रहेको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने जानकारी दिए पनि यस विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी हुन बाँकी छ । मंगलबार दाहालसँग भेट गरेका नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार ओली र दाहालबीच मन्त्रिपरिषद् हेरफेरबारे अन्तिम सहमति हुन बाँकी छ ।
सोमबारको भेटमा ओली र दाहालबीच बुधबार विहान बसेर मन्त्रिपरिषद् हेरफरेको विषयमा थप छलफल गर्ने सहमति भएको थियो । तर, मंगलबार नै प्रधानमन्त्रीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने जानकारी मन्त्रीहरुलाई दिएका छन् ।
उद्योग मन्त्री मात्रिक यादब हट्ने निश्चित भइसकेको छ । उनी केही दिनयता मन्त्रिपरिषद्को बैठकमा समेत गएका छैनन् । त्यस्तै भूमिसुधार मन्त्री पद्मा अर्याल, कृषि मन्त्री चक्रपाणि खनाल यातायातमन्त्री रघुबीर महासेठ, महिला मन्त्री थममाया थापा लगायतको पद जोखिममा छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरको तयारी प्रधानमन्त्रीको छ । कम्तीमा ६ मन्त्री हट्ने प्रधानमन्त्री निकट एक अधिकारीले बताए ।