Logo
Logo

समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन जेठमा हुने



काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको हाे ।

बैठकले सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन समिति र कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट सङ्गठनले कर्णाली प्रदेशको अधिवेशन यही २० वैशाख गते गर्ने भएको छ । सङ्गठनले अन्य छ प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यस्तै संगठनले प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति आपत्ति जनाएको छ ।

पत्रपत्रिका वर्गीकरणको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक रहेको ठहर गर्दै सङ्गठनले मूल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले पुनःवर्गीकरण गर्न माग गरेको छ ।

सङ्गठनका अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रेस क्षेत्रको नियमन गर्ने र न्याय सम्पादनजस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नुपर्ने प्रेस काउन्सिलको भूमिका निष्पक्ष र जिम्मेवारीपूर्ण हुन नसक्नु दुःखद् पक्ष भएको उल्लेख छ ।

प्रेसलाई मर्यादित बनाउने तथा पत्रपत्रिकाको मूल्याङ्कन गर्ने जिम्मेवारीमा रहेको प्रेस काउन्सिलको नेतृत्वलाई राजनीतिक पूर्वाग्रहबाट माथि उठेर आफ्नो भूमिकामा निष्पक्षता र पारदर्शिता कायम गर्न तथा सबैको विश्वास र भरोसा जितेर काम गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्