काठमाडौं । पहिचान पक्षधरले तेह्रथुममा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् ।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले शुक्रबार तेह्रथुमको आठराई गाउँपालिकास्थित पोखरी छातेढुंगा मार्गमा कालो झन्डा देखाउँदै ओलीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले एमाले उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध पनि नाराबाजी गरेका थिए ।
त्यसक्रममा उनीहरुले पहिचान विरोधी होसियार, कोशी नाम मान्दैनौँ, सम्पूर्ण पहिचानवादी एक हौँ, केपी ओली मुर्दावाद, लिम्बु गद्धार सुवास नेम्वाङ मुर्दावाद जस्ता नारा लगाएका थिए ।

त्यहाँ बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । पहिचान पक्षधरले शान्तिपूर्ण नाराबाजी गरिरहँदा एमालेका कार्यकर्ताले पनि एकपटिबाट केपी बा जिन्दावाद जस्ता नारा लगाएका थिए ।
एमाले अध्यक्ष ओली त्यहाँ एक पानी ट्यांकीको उद्घाटन गर्न पुगका हुन् । उनले उद्घाटन गरिरहँदा पहिचान पक्षधरले नाराबाजी गरिरहे । त्यसपछि ओली त्यहाँ केहि मिनेटमै उद्घाटन कार्य सकेर फर्किएका छन् । अहिले त्यहाँको स्थित सामान्य भएको छ । बुधबार उनकै गृहजिल्ला झापामा र ईलाममा पनि पहिचान पक्षधरले ओलीलाई कालो झन्डा देखाएका थिए ।














