काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सुदूरपूर्वको यात्रामा छन् । उनी सुदूरपूर्वको केही जिल्ला पुगेर विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
गत बुधबार गृहजिल्ला झापा पुगेका ओली हिजो (बिहीबार) इलाम पुगेका थिए भने आज (शुक्रबार) तेह्रथुम पुगेका छन् । तर, ओली जहाँ पुग्छन्, त्यहाँ उनीविरुद्ध नाराबाजी हुन्छ । कालो झन्डा देखाइन्छ ।

सुदूरपूर्वमा दुई महिनादेखि पहिचानको आन्दोलन चर्किरहेको छ । पहिचानकै आन्दोलनको क्रममा पदम लिम्बू (लाजेहाङ)को मृत्यु समेत भएको छ भने सयौं घाइते भएका छन् ।
गत फागुन १७ गते प्रदेश एकलाई कोशी प्रदेश नामकरण गरेपिछ त्यसको भोलिपल्टबाटै आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलन अहिले पनि जारी रहेको छ ।
प्रदेशको सरकारको नेतृत्व गर्दै आएको एमालेले कोशी प्रदेशको नाम राख्ने गरेको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत सहमति जनाएपछि नामकरणमा दुईतिहाइ बहुमत जुटेको थियो ।
बहुमतले प्रदेशको नामकरण कोशी गरेपछि त्यसयता सुदूरपूर्व अशान्त बनेको हो । अहिले पहिचान खोज्नेहरूका मन कुँडिएको छ । पहिचान पक्षधरहरूले दिनहुँ विरोध प्रर्दशन गरिरहेका छन् । यसैबेला सुदूरपूर्व पुगेका ओलीमाथि पहिचान पक्षधर खनिएका छन् । उनीमाथि आक्रोश व्यक्त गरिरहेको छ । सुदूरपूर्वमा ओली जहाँ पुग्छन्, त्यहाँ कालो झन्डा देखाइन्छ ।
गत बुधबार उनकै गृहजिल्ला झापामा पनि पहिचान पक्षधरले उनलाई कालो झन्डा देखाउनुको साथै उनको गाडीलाई रोक्ने प्रयास गरेको थियो ।
उनी झापाको बुधबारेस्थित एक कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएको समूहले ओलीको गाडीमाथि ढुंगामुढा प्रहार गरेको थियो । त्यसपछि प्रहरी र पहिचान पक्षधरबीच झडप नै भएको थियो ।
बिहीबार ओली जिल्ला आधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न इलाम पुगे । त्यहाँ पनि उनलाई पहिचान पक्षधरहरूले उनलाई कालो झन्डा देखाएका थिए । ओलीसहितका नेताहरू कार्यक्रमस्थल गौतमबुद्ध सभाहलतर्फ जाँदै गर्दा इलाम बजारमा पहिचान पक्षधरले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
सम्बोधनका क्रममा उनले जनताको मत जितेर नाम परिवर्तन गर्न आन्दोलनकारीलाई सुझाव दिनुको साथै संविधानबमोजिम नै प्रदेशको नाम राखिएको बताए । उनले पहिचान पक्षधरलाई आतङ्ककारीको संज्ञा समेत दिन भ्याए । ओलीको उक्त अभिव्यक्तिले बलेको आगोमा घिउ थप्ने काम गरेको छ ।
आज (शुक्रबार) आफ्नै जन्मभूमि तेह्रथुम पुगेको ओलीलाई त्यहाँ पनि पहिचान पक्षधरले कालो झन्डा देखाउन भ्याए । पानी ट्याङ्कीको उद्घाटन गर्न तेह्रथुमको आठराई गाउँपालिकास्थित पोखरी छातेढुंगा पुगका ओलीलाई कालो झन्डा देखाउँदै उनीविरुद्ध नाराबाजी गरेका थिए ।
त्यसक्रममा उनीहरूले पहिचान विरोधी होसियार, कोशी नाम मान्दैनौँ, सम्पूर्ण पहिचानवादी एक हौँ, केपी ओली मुर्दावाद, लिम्बू गद्दार सुवास नेम्वाङ मुर्दावाद जस्ता नारा लगाएका थिए ।
त्यहाँ बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । पहिचान पक्षधरले शान्तिपूर्ण नाराबाजी गरिरहँदा एमालेका कार्यकर्ताले पनि अर्को पट्टीबाट ‘केपी बा जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।











