Logo
Logo

एमाले कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुतला दहन


378
Shares

काठमाडौं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघका नेता-कार्यकर्ताले काठमाडौंमा शनिबार प्रधानमन्त्रीको पुतला दहन गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका हुन् ।

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी ल्याइएको कार्यविधि तत्काल खारेज गर्न उनीहरूले दबाब दिए ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने बताए ।

‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै, देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौँ रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौँ घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ । यो अयोग्य लडाकुहरूको नाममा अर्बौँ घोटला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौँ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले वर्तमान सरकारले नीतिगत भ्रष्टाचार सुरु गरेको आरोप पनि लगाए ।

प्रदर्शनमा सहभागीले ‘शान्ति सुरक्षा कायम गर’, ‘भ्रष्टाचार अन्त्य गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्