काठमाडौं, ४ मंसिर
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापना लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको हो । पाँचखाल सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको निर्वाचन क्षेत्र हो । उनकै पहलमा विश्वबिद्यालय स्थापना हुन लागेको हाे ।
यसअघि विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएको थियो । तर, प्राविधिक टोलीले त्यहाँ पायक नपर्ने बताएपछि उपत्यकाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको पाँचखालमा स्थापना हुन लागेको हो ।
विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । विश्वविद्यालयसम्बन्धी विधेयक गत साउनमा संसद्मा दर्ता भइसकेको छ । विधेयक संसदीय समितिमा छलफलको क्रममा छ । सरकारले विश्वबिद्यालय स्थापनाका लागि बजेट समेत विनियोजन गरिसकेको छ । पाँचखालमा सो विश्वबिद्यालय स्थापना भएपछि सो क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
पाँचखालमा आयोजना नै आयोजना
पाँचखाल नगरपालिकामा एक दर्जन विकासका आयोजना अघि बढेका छन् । ६ हजार घरमा धारा पु(याउने उद्देश्यले दुई अर्ब २२ करोड लागतको सुनकोसी पाँचखाल उपत्यकाका खानेपानी आयोजना केही दिनअघि मात्र सुरु भएको छ । सुनकोसी नदीबाट पलाञ्चोक मन्दिरमा पानी तानेर वितरण गर्ने आयोजन टेन्डर प्रक्रियामा गएको छ ।
त्यस्तै, हरित महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको छ । सार्क महिला उद्यमी र अन्य महिला उद्यमीले यहाँ १४ वटा घरेलु उद्योग स्थापना गर्न लागेका छन् । शिखरपुरमा यसको प्रक्रिया अघि बढिसकेको छ । युवाहरूका लागि युथ इनोभेसन सेन्टर स्थापना प्रक्रिया अघि बढेको छ । साथै, काठमाडौं विश्वविद्यालयको कृषि विभाग पाँचखालको अनेकोटमा स्थापना हुने भएको छ ।
विशेष आर्थिक क्षेत्रअन्तर्गत ५७ वटा ठूला उद्योग स्थापनाको प्रक्रिया पनि अघि बढेको छ । रूख कटान गरी सेज निर्माण सुरु गरिएको छ । जसबाट पाँच हजारजनाले रोजगारी पाउने नगर प्रमुख खरेलले बताए । सञ्चारमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसद लक्ष्मण लम्साल र आफू मिलेर विकासलाई प्रमुख नारा बनाएर काम थालिएको खरेलको भनाइ छ । ‘हामी फरक पार्टीका भए पनि विकासमा एकजुट भएर लागेका छौँ, विकासवाद नै हाम्रो मुख्य नारा हो,’ खरेलले भने, ‘पाँचखाललाई केही वर्ष्भित्रै समृद्ध उपत्यका बनाउँछौँ ।’