
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफुले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको बताएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको बताएका हुन् । उपनिर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले गठबन्धनका उम्मेदवारदाई हराउने षड्यन्त्र गरेको भन्ने आरोपमा उनले सो अभिव्यक्ति दिएका हुन् । यदी कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।
काठमाडौं क्षेत्र नम्बर–४ का सांसद समेत रहेका थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको पनि बताए । उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा काठमाडौं क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताए ।
उनले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं क्षेत्र ४ (१) का सभापति विमल होडाले युवाप्रति राजनीतिमा वितृष्णा बढ्दै गएको बताए । यस्ता समस्या समाधानका लागि पार्टीले फरक योजना बनाएर युवा लक्षित कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।











