काठमाडौं, ४ मंसिर ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । उपसभामुख पदबाट राजीनामा दिन आग्रह गर्दै उनले तुम्बाहाम्फलाई मन्त्री बनाउने आश्वासन दिएका हुन् । तर, उनले सो प्रस्ताव अस्वीकार गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।
स्रोतका अनुसार तुम्बाहम्फेले ’अहिले मन्त्री बन्नेबारे कुरा नगरैं संसद खुलेपछि यसबारे कुरा गरौंला’ भन्ने जवाफ दिएकी थिइन् ।
तुम्बाहाम्फेले सभामुख पदकै दाबी गरेकी छिन् । सरकारले बुधबार नै मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेको छ ।












