काठमाडौं । सरकार र राष्ट्रिय आाविस्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता जारी रहेको छ । केही समयअघि सिंहदरबारस्थित रक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा सरकारको तर्फबाट उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागी रहेका छन् । यस्तै पुनको तर्फबाट पुनसहित उनी निकट अरु दुई जना रहेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
पुन शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका थिए । महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।
उनले प्रतिभाशाली र सृजनशील नेपालीलाई अनुसन्धानको काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याइनुपर्ने र उक्त रकम अनुसन्धान, नवप्रवर्तन र आविस्कार कोषमा राखिनुपर्ने माग राखेका छन् ।
उक्त कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभएमा आगामी वर्षहरुमा पनि खर्च गर्न पाउने व्यवस्था गरिनुपर्ने माग राखेका छन् । साथै उनले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै प्रबद्र्धन, संचालन र खरिद ऐन बनाएर आवश्यकता अनुसार सरकारले काम गर्नुपर्ने माग राखेका छन् ।











