Logo
Logo

ओलीको आरोप- पहिचानवादीलाई ज्ञानेन्द्र शाहले उच्काए


4.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

पहिचानको नाममा अराजनीतिक गतिविधि गरेर आफूमाथि ढुङ्गामुढा गरेको भन्दै ओलीले यस्तो क्रियाकलापमा ज्ञानेन्द्र शाह र उनका परिवारको पनि संलग्नता देखिएको आरोप लगाए ।

‘हामी झापा, पाँचथर, तेह्रथुमको कार्यक्रममा जाँदैगर्दा बाटोमा केही गुण्डा प्रवृत्तिका अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने जस्ता कुराहरु गरे’, आइतबार एमाले निकट अखिल नेपाल किसान महासंघको स्थापना दिवस कार्यक्रममा ओलीले भने- ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको देखिएको छ । अनेकमार्फत देखिएको छ । यहाँ भित्रभित्र पूर्व दरबारियाहरु छौंडा खेलाएर पनि यस्तो काम गरिरहेका छन् ।’

यस्तै ओलीले अहिलेको सत्तामा हुने पार्टीका कार्यकर्ताहरु पनि त्यहाँ ढुंगा हान्न गएको बताए । ‘हाम्राविरुद्ध अश्लिल, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यीनका मुखबाट सुनिए । त्यो मैले आफैले देखेर भागेर आएको छु । हरेक ठाउँमा उनीहरुले निषेध गर्ने खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने । काही ढुंगा हान्ने, काही भिडन्त गर्न आउने । यो खालको उदण्ड मच्याउँदा पनि सरकार मुकदर्शक देखियो’, ओलीले भने ।

ओलीले आफूलाई आन्दोलनकारीले ढुंगा हान्दा पनि सरकारल भने मुकदर्शक बनेको आरोप लगाए । ‘आन्दोलनकारीहरुले ढुंगा र धक्का दिँदा पनि पुलिस चाहिँ हेरेर बसेको छ । माथिको आदेश चाहियो । यो गडबन्धन सरकारको पनि यस्ता असामाजिक क्रियाकलापहरु गर्ने गराउने कुरामा चाहिँ संलग्नता देखियो । ती २०/२५ जना केटाहरुलाई पनि समाउन सकिँदैन’, ओलीले भने ।

ओलीले पूर्वको कार्यक्रममा ठाउँ-ठाउँमा आफुलाई आक्रमण गर्ने मान्छेहरु एउटै रहेको उल्लेख गर्दै ती साना समूहलाई पनि प्रहरीले नियन्त्रण गर्न नसकेको बताए ।

‘त्यहि मान्छे झापामा ढुंगा हान्छ । त्यहिँ मान्छे ईलाममा गएर उफ्रन्छ । त्यहि मान्छे फिदिम गएर उफ्रन्छ । त्यहि मान्छे तेह्रथुम गएर उफ्रन्छ । त्यहि मान्छे फर्केर आएर फिदिममा उफ्रन्छ फेरि’, ओलीले भने, ‘ती मान्छै त्यहि यति-यति मान्छे । यसो समाउने हो भने एकै झ्यापमा हुन्थ्यो । केहि पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्