काठमाडौं, ४ मंसिर ।
सरकारले ६ मन्त्रीलाई बर्खास्त गरेको छ । तीन राज्यमन्त्रीसहित नौ जना नियुक्त भएका छन् ।
बर्खास्त हुने मन्त्रीहरुमा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण बिष्ट, उद्योगमन्त्री मात्रिका यादब, कृषि मन्त्री चक्रपाणि खनाल र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादब छन् ।

यातायात मन्त्रीमा बसन्तकुमार नेम्वाङ नियुक्त भएका छन् । संघीय मामिलामा हृदयेश त्रिपाठी, श्रममा रामेश्वर राय यादब, उद्योगमा लेखराज भट्ट, कृषिमा घनश्याम भुषाल र महिलामा पार्वत गुरुङ नियुक्त भएका छन् ।
त्यस्तै तीन राजयमन्त्रीहरु समेत नियुक्त भएका छन् । उद्योगमा मोतिलाल दुगड, स्वास्थ्यमा नवराज रावत र सहरी विकासमा रामवीर मानन्धरलाई राज्यमन्त्री नियुक्त गरिएको छ ।
स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादबलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादब हाल विदेशमा छन् । नेपाल फर्किएपछि उनले सरकार छाड्ने तयारी गरेका छन् ।
नयाँ मन्त्रीसहित मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।


पुराना मन्त्रीले काम गर्न नसकेको भन्दै सरकारले उनीहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।












