Logo
Logo

सांसद कोइरीलाई पक्राउका लागि प्रहरीले लेख्यो संसदलाई पत्र


1.6k
Shares

काठमाडौं । हत्या आरोपमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोगका प्रहरी प्रधान कार्यालयले सांसद पुनः संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले दोस्रोपटक प्रहरी प्रधान कार्यालयको पत्र आएको बताए । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयलाई पत्र पठाएको थियो ।

उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नुअघि आएकाले नयाँ नियमावलीअनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।

सांसदहरुले ध्यानाकर्षण गर्दा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार रहेको जानकारी औपचारिक रुपमा कुनै निकायले नगराएको बताएका थिए ।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका कानुन शाखाका प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले संघीय संसद सचिवालयलाई लेखेको पत्रमा ‘निज लक्ष्मी महतो मुद्दाको पुर्पक्षका लागि थुनामा बसी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो कार्य नगरी तारेख गुजारी हालसम्म पनि फरार रहेको तथ्य महोत्तरी जिल्ला अदालतबाट प्राप्त पत्रबाट देखिएको’ उल्लेख छ ।

प्रहरीले पहिलोपटक संघीय संसद सचिवालयलाई लेखेको पत्रमा कोइरी फरार रहेको जानकारी गराएको थियो । यसपटक फरार रहेको जानकारीका साथै पक्राउ गर्न सहयोगका लागि संसद सचिवालयलाई आग्रह गरिएको छ ।

‘निज लक्ष्मी महतो सम्मानित महोत्तरी जिल्ला अदालत जलेश्वरमा हालसम्म पनि हाजिर हुन नआई फरार रहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको भनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको च. नं ३६१५ मिति २०७९/०९/०७ गतेको पत्र प्राप्त भएको हुँदा २०७७÷०८÷१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिदिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्