Logo
Logo

बैंकको ब्याजदर अझै घट्छ : प्रधानमन्त्री


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् ।

सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने- ‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए । अहिले त्यसमा क्रमशः सुधार आउँदैछ। बैंकको ब्याजदर केही घटेको छ। यो महिनाभित्र थप केही घट्छ ।’

‘अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो । तर, निकै ठूलो दुख र मेहेनतपछि त्यसमा राम्रो सुधार आयो । ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो । राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भयो । त्यसपछि नेपाली कांग्रेसका सभापति देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गरिदिएँ । अहिले पनि म त्यस्तै परिस्थितिमा प्रधानमन्त्री भएको छु। यतिबेला मैले अघिल्लो कार्यकाल सम्झिरहेको छु ।’

‘उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिँदैन । त्यसैले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका छौँ’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्र लयमा फर्किन थालेको छ । यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु । अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ ।’

‘मौलाकालिका राष्ट्रिय रूपमा नै पर्यटकीय केन्द्र बन्दै गएको छ । मौलाकालिका, देवघाट, राष्ट्रिय निकुञ्ज, नारायण नदी आफैमा पर्यटनका ठूला गन्तव्यहरू हुन’ प्रधानमन्त्रीले भने, ‘यो परियोजनाले यी क्षेत्रहरूलाई जोड्नेछ । यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनमा गुणात्मक प्रगति हासिल हुनेछ भन्ने विश्वास लिएको छु। चितवन र नवलपुरलाई विशेष आर्थिक क्षेत्रको रूपमा विकास गर्नुपर्छ । यसो गर्दा यहाँको विकासले क्रान्तिकारी फड्को मार्नेछ ।’

‘निजी क्षेत्रलाई संकटबाट मुक्त गर्न र माथि उठाउन यसबीचमा ठूलो मेहेनत गरिएको छ । मेहेनतको सबै नतिजा त आइसकेको छैन, तर क्रमशः सुधार भएको छ । निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरी नेपालको समृद्धि र विकासले गति लिन सक्दैन भन्नेमा म प्रष्ट छु । उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका नै मुख्य रहन्छ । त्यसमा राज्यले आवश्यक वातावरण निर्माण, व्यवसायमैत्री कानुन र सुरक्षा प्रबन्धको व्यवस्था गर्नुपर्छ ।’ प्रधानमन्त्रीले भने ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, नेपाली कांग्रेसका नेता शशांक कोइराला, केवलकारका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले सम्बोधन गरेका थिए ।

नवलपुरको गैंडाकोट नगरपालिकामा निर्माण सम्पन्न यस परियोजना १३ महिनामा सम्पन्न गरिएको अध्यक्ष ढकालले जानकारी दिए । १.२ किलोमिटर लम्बाइ रहेको केवलकार र होटल निर्माणमा प्रालिले करिब २ अर्ब लगानी गरेकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्