Logo
Logo

निजीक्षेत्र र सरकारबीच थप साझेदारी गर्न चन्द्र ढकालको आह्वान


252
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले  डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गरेका छन् । 

‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडि बढिसकेकाले थप सहजीकरण गर्न सरकारसँग आग्रह गरेका हुन् । 
 
डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता भएको उनले बताए । उनले भने, ‘सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र  प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ । सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबीच थप साझेदारी आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन गरेको  पनि अध्यक्ष ढकालले बताए ।  

सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरूले  निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले  प्राथमिकताका साथ  समाधान गर्न पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।

सूचना प्रविधिको उपयोगबाट बढि भन्दा बढि फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाई मान्यता दिई प्रयोगमा ल्याउन, कर, ब्याजदर लगायतमा सुविधा दिएर सूचना प्रविधि हवको विकासमा सघाउन पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह  गरे ।

प्रविधिबाट कोही वञ्चित नहोस् भन्ने मान्यतामा दृढ रहँदै डिजिटल डिभाइडर कम गर्न सूचना तथा सञ्चार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने  प्रयासमा सबै क्षेत्रले योगदान गर्नु पर्ने पनि अध्यक्ष ढकालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्