
सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।
आज (बुधबार) बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरेर पीडा दिइरहेको समेत गुनासो गरे । कर्णालीमा आफ्नो पार्टीलाई बाइपास गरेर दु:ख दिइरहे कुनैपनि बेला गठबन्धन टुट्न सक्ने उनको भनाइ छ ।
‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । प्रचण्ड जीलाई भन्न चाहान्छु, यसले गठबन्धनलाई धरापमा पार्न सक्छ,’ उनले भने ।
अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए ।











